काठमाडौँ, असार ३१ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेकाले यतिबेला देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भैरहेको छ भने आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभरका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।