फाइल तस्वीर


बागलुङ, असार ३० गते । सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ । सरकारले पहिरोपीडित परिवारलाई राहतस्वरुप छ लाख ५० हजार रुपैयाँ नगद प्रदान गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई दुई लाख ५० हजार रुपैयाँ नगद प्रदान गरेको हो ।

यसैगरी यही असार १५ गते राति घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र निजकी ५० वर्षीया श्रीमती वसन्ती विकको मृत्यु भएको थियो । विकका परिवारलाई चार लाख रुपैयाँ नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले राससलाई बताउनुभयो । उक्त रकम सङ्घीय र प्रदेश सरकारबाट प्राप्त भएको हो । रासस