कञ्चनपुर, असार २५ गते । बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामुहिक दाहसंस्कार गरिएको छ । आज तीनैजनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिनुभयो । “पोष्टमार्टमपछि आज दाहसंस्कार गरिएको छ । पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल भइरहेको छ,” वडाध्यक्ष रोकायाले भन्नुभयो ।

सोमबार दिउँसो पुनर्वास नगरपालिका–५ गाउँका १६ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १३ वर्षीय आरती बोगटीको रातोखालीस्थित डुबानमा परेर निधन भएको थियो । 

दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी हुनुहुन्थ्यो । उहाँले पीडित परिवारलाई भेटेर संवेदना प्रकट गर्दै सान्त्वना दिनुभयो । त्यस क्रममा मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।