काठमाडौँ, असार २४ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा रहेको छ । अहिले सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदलीको अवस्था छ भने देशका बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ ।

बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभरको मौसम साधारणतया बदली रहने छ । दिउँसो सबै प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।