काठमाडौँ, असार १८ गते । सङ्घीय संसद्का दुई ठूला दल नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख सुधार आएको छ ।

आजको कारोबार शुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो । त्यसपछि ११ः२१ बजे खुलेको कारोबारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको नेप्सेले जनाएको छ । 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार राजनीतिक समीकरण परिवर्तनको प्रभाव पुँजीबजारमा देखिएको हो । “शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन । सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ”, उहाँले भन्नुभयो ।