फाइल तस्वीर
काठमाडौँ, असार १७ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्था छ ।

देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।

आज दिउँसो पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज दिउँसो धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी आज राति पनि देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा आज राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको छ । धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

साथै कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा राति धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।