विराटनगर, जेठ २७ गते । मोरङको रङ्गेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै विद्यार्थीहरुको एक समूहले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी सवार गाडीमा आगजनी गरेका छन् ।

रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइ माग गर्दै आज आइतबार बिहान प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडी जलाएका हुन् ।

विद्यार्थीको समूहले नेपाल विद्युत प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड पनि गरेका छन् । गत बिहीबार नेपाल विद्यार्थी सङ्घको एक समूहले रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर समेत रहनुभएका वडा नम्बर–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशसकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गर्दै नगरपालिका पुगेका विद्यार्थीहरूको समूहले नगरप्रहरी र नेपाल प्रहरीलाई समेत हातपातमा गरेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेविसङ्घका छ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।