धरान, जेठ २४ गते । सुनसरीको इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा इटहरीको सोल्टी वेस्टेण्डमा कोशी प्रदेशका पर्यटन व्यवसायीको विकास तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले भोलिदेखि जेठ २७ गतेसम्म उक्त मार्ट आयोजना हुने भएको हो ।

इटहरीमा पत्रकार सम्मेलन गर्दै मार्टको उद्घाटन कार्यक्रममा भारतको विहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, भुटान र बङ्गलादेशलगायत मुलुकबाट पर्यटक ल्याइने योजना अनुसार मार्टको आयोजना गरिएको मार्टका सचिव वासुदेव बरालले बताउनुभयो ।

मार्टमा कोशी प्रदेशलगायत अन्तर्रााष्ट्रियस्तरबाट ८० भन्दा बढी ट्राभल व्यवसायीको सहभागिता रहने मार्टका संयोजक भविषकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटन बोर्डको रु ३० लाख सहयोग र इटहरी उपमहानगरको रु छ लाख लागतमा कार्यक्रम हुने छ ।”

कार्यक्रमको अवधिमा प्रदेशमा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमण गराइने आयोजक संस्थाका कोषाध्यक्ष तेजबहादुर पुरीले बताउनुभयो । उहाँका अनुसार स्थानीय सांस्कृतिक झाँकी, सांस्कृतिक प्रस्तुति र फुड्स स्टल मार्टको आकर्षणका रुपमा रहेका छन् । मार्टको उद्घाटनमा सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिने उहाँको भनाइ छ ।

इटहरी धरानरोड आँपगाछीस्थित सोल्टी वेस्टर्नको प्राङ्गणमा सञ्चालन हुने मार्टमा ३० वटा स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुहुने छ । कार्यक्रमको समापन झापाको काँकरभिट्टामा रहेको होटल मेची क्राउनमा यही जेठ २७ गते हुने आयोजकले जनाएको छ ।