काठमाडौँ, असार १३ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा आज बिहिबार सार्वजनिक गर्ने भएको हो ।

नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ । बोर्डले प्रत्येक विषयमा लिखित (सैद्धान्तिक) तर्फ न्यूनतम् ३५ प्रतिशत अङ्क नल्याएमा परीक्षार्थी ननग्रेडिङ हुने व्यवस्था अनुरुप पहिलो पटक ग्रेडिङ प्रणालीमा एसईईको नतिजा सार्वजनिक गर्न लागेको हो ।


यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्पm ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनैपर्ने अन्यथा अनुत्तिर्ण सरह मानिने भएको छ । ७५ अङ्कको परीक्षामा २७ अङ्कभन्दा कम नम्बर आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने बोर्डले जनाएको छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न नपाउने र पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्ने व्यवस्था कार्यान्वयन हुने भएको छ ।

बोर्डका अनुसार प्राविधिक जटिलताको अवस्थाबाहेक आजै एसईईको नतिजा सार्वजनिक हुने भएको छ । अहिले बिहान ७ बजेदेखि बोर्डको बैठक बसिरहेको छ । बोर्डले निर्णय गरेपछि नतिजा प्रकाशित गरिने बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिनुभयो । गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४ सय ९७ परीक्षार्थी सहभागी भएका थिए । सो परीक्षार्थीहरुको परीक्षाफल आज सार्वजनिक हुँदैछ ।