तस्वीर: नवसञ्चार अनलाईन, सुमिना ।


काठमाडौँ, असार १२ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बुधबार बसेको बैठकले भोलि बिहीबार बिहान १० बजेसम्म एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।

बोर्डले आजै साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर केही प्राविधिक तयारी पुरा नभएका कारण नतिजा भोलि बिहानमात्रै सार्वजनिक गर्न लागिएकोे परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी गराउनुभयो ।

परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो —‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि त्यस्कै डेमो गरिरहेका छौं । हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भयो । त्यसैलै भोलि बिहान ७ बजे पुनः बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गरिनेछ ।’

गत चैत्र १५ गतेदेखि चैत २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ जना विद्यार्थीहरु सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार एसईईको नतिजा सार्वजनिक गर्नेभएको छ । जसअनुसार सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनु पर्नेछ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६ दशमलव २५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अङ्क ल्याउनुपर्छ ।

लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अङ्कलाई ग्रेडमा रूपान्तरण गरिने छ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६ दशमलव २५ अङ्क पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख गरिनेछ । यस्तो अङ्क ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् ।

साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६ दशमलव २५ अङ्क ल्याउन नसकेका विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । बोर्डका अनुसार त्यस्ता विद्यार्थीले दुई वटा विषयमात्र ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । ननग्रेडिङ्ग भएका विद्यार्थीहरुले अर्को वर्षमात्रै परीक्षा दिन पाउनेछन् ।