फाइल तस्वीर
बेइजिङ, असार ७ गते । यो साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र बाढीबाट मर्नेको सङ्ख्या बढेर आज शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएको छ । सरकारी प्रसारक सिसिटिभीले पूरा साता मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा अर्बौं युआनको नोक्सान भएको छ ।
केही क्षेत्रमा यो साता शताब्दीकै सबैभन्दा ठूलो बाढीमध्येको एक आएको सिसिटिभीले बताएको छ । अधिकारीहरूले बिहीबार नौ जनाको मृत्यु भएको बताए पनि शुक्रबार दिउँसोसम्म मर्नेको सङ्ख्या बढेर ३८ पुगेको छ ।
“प्रकोपको गम्भीरताका कारण फसेका मानिसको खोजी र उद्धार कार्य कठिन भएको छ र समय लाग्नेछ”, सिसिटिभीले भनेको छ । मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् ।
चीनको अधिकांश भागमा यो साता ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेपछि दक्षिणी क्षेत्रमा मुसलधारे वर्षा भएको छ ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले ठूलो वर्षा र लु जस्ता चरम मौसमलाई थप बारम्बार र तीव्र बनाउँछ । हरित गृह ग्यास जलवायु परिवर्तनको प्रमुख कारण हो र चीन विश्वको सबैभन्दा ठूलो हरित गृह ग्यास उत्सर्जक हो ।