फाइल तस्वीर
मकवानपुर, असार ६ गते । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेससहित प्रतिपक्ष दलहरूको विरोधपछि स्थगित भएको छ । काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले बैठकको प्रारम्भमा विशेष समय माग गरी प्रदेश सरकारले यही असार १ गते पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले प्रकाशित गरेको रातो किताबमा तथ्याङ्क नमिलेको भनी सरकारको विरोध गर्नुभयो ।

उहाँले बजेट वक्तत्वमा उल्लेख भएबमोजिम रातो किताबमा बजेट संशोधन गरी नल्याएसम्म बैठक चल्न नदिने अडान व्यक्त गर्नुभयो । संसद्मा प्रतिपक्ष कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरूको करिब २० मिनेट नाराबाजीपछि सभामुख भुवन पाठकले आज अपराह्न ३:०० बजेसम्मका लागि बैठक स्थागित भएको जानकारी दिनुभयो ।

यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, अर्थसचिव र प्रमुख प्रतिपक्ष दल कांग्रेससहित राप्रपा र मजदुर किसान पार्टी संसदीय दलका नेताबीच बैठक सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिँदै राप्रपा संसदीय दलका नेता उद्धव थापाले अब अर्को बैठक भोलि शुक्रबार बिहान ११:०० बजे बस्ने गरी सहमति भएको छ भन्नुभयो ।