फाइल तस्वीर
कर्णाली, असार ४ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । कर्णाली प्रदेशसभाको आजको बैठकको सुरुमा नेपाली काङ्ग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन तथा उठाएका विषयको जवाफ आउनुपर्ने धारणा राख्नुभयो ।

काङ्ग्रेसको धारणापछि जवाफका लागि आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी रोष्टममा पुग्ने बित्तिकै काङ्ग्रेस प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरे । सरकारका मन्त्रीले जवाफ दिइरहँदा र सभाको कामकारबाही चलिरहेका बेला बैठक अवरोध गर्नु प्रदेशसभा नियमावलीविपरीत हो भन्दै सभामुख नन्दा गुरुङले नियमापत्ति मात्र जनाउन पाइने तर अवरोध गर्न नपाइने जिकिर गर्नुभयो तर पनि काङ्ग्रेसले आफ्नो अडान छाडेन ।

त्यसैबीच, सत्तापक्षका प्रदेशसभा सदस्य विन्दमान विष्टले प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम २१ को दफा ६ र २२ को दफा ‘च’ अनुसार नियम उलङ्घन गरेको भन्दै नियमापत्ति जनाउनुभयो ।

काङ्ग्रेस प्रदेशसभा सदस्य बेदराज सिंहले सत्तापक्षका सदस्यले प्रदेशसभा नियमावलीको नियम ‘च’ देखाएर प्रतिपक्षीलाई नधम्क्याउन चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “दलीय धारणा राख्न पाइन्छ, त्यही व्यवस्थाबमोजिम आफ्नो अधिकार प्रयोग गरेका छौँ । अबण्डा रकम राख्न पाइन्न, समपूरक र विशेष अनुदान छुटेका क्षेत्रमा सशर्त अनुदानमार्फत सम्बोधन हुनुपर्दछ ।” सरकारले जवाफमा अट्काउनभन्दा दस्ताबेजीकरण गरेर आफ्ना माग सम्बोधन गर्न आग्रह गर्नुभयो ।

बजेट पुनर्लेखन नभएसम्म सदनका कुनै पनि कारबाही अगाडि बढ्न नसक्ने काङ्ग्रेसको अडानपछि सभामुख गुरुङले आधा घण्टाका बैठक स्थगित भएको सूचना गर्नुभयो ।