काठमाडौँ, असार ४ गते । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । देशका बाँकी भूभागमा स्थानीयसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।

अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदलीदेखि पूर्ण बदलीको अवस्था छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेशसहित देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ । राति कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।