तस्वीर क्यान
काठमाडौँ, असार ३ गते । आइसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत अहिले जारी खेलमा बङ्गलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । किङ्सटाउनमा आज सोमबार बिहान टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बङ्गलादेशले १९ दशमलव ३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनाएपछि नेपालले १०७ रनको लक्ष्य पाएको हो ।

विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाल आज बङ्गलादेशलाई हराएर सुखद् अन्त्यको खोजिमा छ । समूह ‘डी’ अन्तर्गत दुई दिनअघि (शनिबार) भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपाल एक रनले मात्रै दक्षिण अफ्रिकासँग स्तब्ध बन्न पुगेको थियो । अन्तिम समयमा सम्हालिन नसक्दा एक रनले पराजित भएसँगै नेपाल विश्वकपबाट बाहिरिएको थियो ।

बङ्गलादेशविरुद्ध मैदानमा उत्रिएको नेपालका लागि आजको खेल प्रतिष्ठाको हुनेछ । टी–२० विश्वकपअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपाल सान्त्वना जित निकाल्ने अवसरको खोजीमा खेलिरहेको छ ।

बङ्गलादेशलाई कम स्कोरमा रोक्न नेपालका सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले दुई /दुई विकेट लिएका थिए । बङ्गलादेशविरुद्ध दुई विकेट लिएसँगै सन्दीप लामिछानेले नयाँ रेकर्ड बनाउँदै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् । सन्दीपले चार ओभरमा १७ रन खर्चिएर विकेट लिएका हुन् ।

नेपाल यसअघि अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालले फ्लोरिडामा तय भएको नेपाल र श्रीङ्काबीचको दोसो खेल भारी वर्षाका कारण रद्द भएको थियो । दुवै टिमले १/१ अङ्क बाँडेका थिए ।

नेपालले आज बङ्गलादेशलाई हराएरमा टेस्ट टोलीविरुद्ध पहिलो जित निकाल्दै नयाँ इतिहास बनाउने दौडमा छ । बङ्गलादेशका लागि भने सुपर आठमा पुग्न नेपालविरुद्धको खेल जित्नै पर्ने बाध्यताले बङ्गलादेश दवावमा खेलिरहेको छ । सुपर आठमा पुग्ने सात टोलीको टुङ्गो लाग्दा समूह ‘डी’ बाट बङ्गलादेश र नेदरल्यान्ड्स दौडमा छन् ।

यस समूहमा अपराजित रहेको दक्षिण अफ्रिकाले यसअघिनै सुपर आठको यात्रा तय गरिसकेको थियो । आजै अर्को खेलमा नेदरल्यान्ड्स र श्रीलङ्का भिड्दैछन् । नेदरल्यान्ड्सलाई अगाडि बढ्न श्रीलङ्कालाई ठूलो अन्तरले हराउने पर्नेछ भने नेपालले समेत बङ्गलादेशलाई हराईदिनु पर्नेछ ।