फाइल तस्वीर सांसद् फणिन्द्र देवकोटा ।
पोखरा, जेठ ३२ गते । नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश संसदीय दलले आफ्नो दलका सांसद् फणिन्द्र देवकोटालाई कारवाही गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई संसदीय दलको ह्वीपको बेवास्ता गर्दै फ्लोर क्रस गरी जेठ २८ गते विश्वासको मत दिएको अभियोगमा सांसद देवकोटालाई कारवाही गरेको हो ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले सांसद् देवकोटालाई दलले कारवाही गरेको व्यहोरा संसद् सचिवालयलाई जानकारी गराउनुभएको छ । सभामुखलाई प्रदेशसभाको आज शुक्रबार बस्ने दोस्रो बैठकमा सांसद् देवकोटालाई कारवाही गरिएको जानकारी गराइने भएको छ । मुख्यमन्त्री पाण्डेले आफुलाई विश्वासको मत दिनुभएका माओवादी केन्द्रका सांसद देवकोटालाई उर्जा तथा खानेपानी मन्त्री बनाउनुभएको थियो । दलको कारवाहीले सांसद देवकोटा पदमुक्त हुनुहुने छ ।

गत २०७९ साल मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल समाजवादी पार्टी (नेसपा) का नेता देवकोटाले गोरखा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट माओवादीको चुनाव चिह्न लिएर निर्वाचन लड्नुभएको थियो । उक्त क्षेत्रबाट निर्वाचित देवकोटाले संसदीय दलको ह्वीप नमानी फ्लोर क्रश गर्नुभएको थियो ।