खजुरा, जेठ ३१ गते । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिक गर्न लागेको छ । नगरमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि नीतिगत रुपमा प्रभावकारी व्यवस्थापन गर्न योजना बनाउन लागिएको हो ।

योजना अद्यावधिकका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उपमहानगरपालिकाका विषयगत समिति तथा शाखाका कर्मचारीसँग छलफल गरिएको छ । सहरी विपद् तथा भूकम्पिय पूर्व तयारी (सुपर) परियोजनाको सहयोगमा पूर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिकको काम गर्न लागिएको हो । नेपालगञ्ज सहरमा कुनै पनि विपद् आएको बेला तत्कालको अवस्थालाई व्यवस्थापन कसरी गर्ने, पूर्व तयारी, आवश्यक व्यवस्थापन तथा तयारीको संयन्त्रलाई चुस्त दुरुस्त राख्न योजनालाई अद्यावधिक गर्न लागिएको नेपालगञ्ज उपमहानगरपालिकाका विपद् तथा वातावरण समितिका संयोजक समिरप्रताप सिंहले बताउनुभयो ।

योजना अद्यावधिक गर्न उपमहानगरले आवश्यक तयारी थालेको छ । उपमहानगरपालिकाअन्र्तगत विभिन्न विषयगत समितिका पदाधिकारी र शाखाका कर्मचारीबीच समूहगत रुपमा छलफल गरिएको छ । कार्यक्रममा नगरप्रमुख प्रशान्त विष्टले विपद् पूर्वतयारीका लागि नीतिगत रुपमै अघि बढेको बताउनुभयो । उहाँले त्यसको आवश्यक तयारी तथा बजेट व्यवस्थापन गरिने बताउनुभयो । विपद्को बेला नगरवासीको सुरक्षा, उद्धार, राहत, उपचारलगायतको व्यवस्था गर्ने र विपद् आउनुभन्दा अघि नै पूर्व तयारीबारे सचेतना अभिवृद्धि गर्ने नगरप्रमुख विष्टको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका अध्यक्ष गोबद्र्धनसिंह सम्झनाले विपद् जुनसुकै समयमा आउने भएकाले त्यसको पूर्वतयारी र प्रतिकार्यका लागि २४सै घण्टा सचेत रहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विपद् विज्ञ सुनिलसन शाक्यले योजना अद्यावधिकमा चाहिने सूचना, स्थानको पहिचान तथा पूर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक रणनितिका विषयमा सहजीकरण गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ ।