बेलबारीमा आयोजित बाल कला साहित्य महोत्सव ।


मोरङ जेठ १८ गते । विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा हिजो बिहीबारदेखि बाल कला साहित्य महोत्सव सुरु भएको छ । मोरङको बेलबारीमा आज शुक्रबारसम्म सञ्चालन हुने उक्त महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुने आयोजक संस्थाले जनाएको हो ।

बेलबारी बहुमुखी क्याम्पस परिसरमा आयोजना गरिएको उक्त महोत्सवको व्यवस्थापनका लागि बेलबारी नगरपालिकाले चार लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग जुटाएको हो । महोत्सवको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले नगरको प्राज्ञिक उन्नयनका लागि क्रियाशील बेलबारी प्रज्ञा प्रतिष्ठानले बालबालिकाको सृजनाशीलता विकासमा जोड दिँदै नगरपालिकासँग सहकार्य गरेको प्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

प्राध्यापक टङ्कप्रसाद न्यौपानेले प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान नभए पनि केही पालिकामा प्रज्ञा प्रतिष्ठान स्थापना हुनु सुखद भएको बताउँदै भाषा, साहित्य कलाको संरक्षण एवं विकासका निम्ति काम गर्न सबै पालिकालाई सुझाव दिनुभएको थियो ।