तस्वीरमा नवनियुक्त मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे ।


पोखरा, जेठ १६ गते । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम आज बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

निवर्तमान मुख्यमन्त्री एवम् एमाले गण्डकी प्रदेश संसदस्य दलका नेता खगराज अधिकारीले प्रदेशसभाको बैठकमा विश्वासको मत लिंदा उहाँको पक्षमा ३० मत र विपक्षमा २७ मत परेको थियो । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि कम्तिमा ३१ मतको आवश्यक थियो । तर मुख्यमन्त्री अधिकारीलाई सभामुखले विश्वासको मत प्राप्त भएको घोषणा गरेपछि नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे असंवैधानिक कदम भयो भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

जेठ १४ गते सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै मुख्यमन्त्री अधिकारी पदमुक्त हुने फैसला गरेको थियो । अदालतको फेसलामा काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो । सोही आधारमा आज बुधबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे पुनः नियुक्त हुनुभएको छ ।