तस्वीरमा अर्थमन्त्री वर्षमान पुन ।
काठमाडौँ, जेठ १६ गते । अर्थमन्त्री वर्षमान पुनले रुग्ण उद्योगलाई सहजै चलाउन नसक्ने बताउनुएको छ । मन्त्रालयमा आयोजित बुधबार पोस्ट बजेट अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

अर्थमन्त्री पुनले ‘रुग्ण उद्योगलाई अहिलेकै अवस्थामा चलाउन सक्ने स्थिति छैन । रणनीति परिवर्तन गर्नुपर्छ’ भन्नुभयो । सरकारले पछिल्ला आर्थिक वर्षमा रुग्ण उद्योग चलाउने घोषणा गर्दै आएको छ । तर पनि रुग्ण उद्योगहरु चलाउन सरकारी तवरबाट खासै प्रयास हुन सकेको छैन ।

यसैगरी सोही कार्यक्रममा मन्त्री पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अर्थमन्त्री पुनले सहकारीको समस्या समाधान गर्दै लैजाने उद्देश्यले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई पाँच लाख रुपैयाँ सम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको स्मरण गराउनुभयो ।

‘सहकारी सानो सानो पूँजी र शक्तिलाई एकीकृत गरेर ठूलो पूँजी, शक्ति बनाउने माध्यम हो’ भन्नुहुँदै अर्थमन्त्री पुनले ‘सहकारीले धेरै राम्रो गरेको तर केही सहकारी सिद्धान्तविपरीत चलेकाले यो क्षेत्र बदनाम हुनपुगेको बताउनुभयो । बजेटमा सहकारीको नियामक गठन गर्ने विषय पनि समेटिएको भन्नुहुँदै मन्त्री पुनले समस्यामा रहेका सहकारीहरूको छानविन गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याइने दावीसमेत गर्नुभयो ।


सोही कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सोही लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा यस कुरालाई पनि महत्व दिएको दावी गर्नुभयो ।

स्थानीय तहमा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापना लगायतका कुरा बजेट वक्तव्यमा भनिएको थियो र स्थानीय तहलाई प्राथमिकतामा राखेर नै सरकारले बजेट ल्याएको मन्त्री पुनले बताउनुभयो ।

सरकारले पूर्वाधारलाई आर्थिक विकासको आधारको रूपमा तय गर्ने गरी विकास गर्ने लक्ष्य छ भन्नुुहुँदै अर्थमन्त्री पुनले औद्योगिक ग्राम र गतिशील अर्थतन्त्रको केन्द्र बनाउने लक्ष्य लिएको बताउनुभएको थियो ।