फाइल तस्वीर


काठमाडौँ, जेठ १५ गते । मन्त्रिपरिषद्को बैठकल आगामी आर्थिक वर्षको अनुमानित आय व्यय (बजेट) स्वीकृत गर्दैछ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने भएको हो ।

देशको अर्थतन्त्र गतिशील हुन नसकिरहेको अवस्थामा सरकारले १९ खर्बभन्दा बढीको बजेट ल्याउँदै छ । अर्थ मन्त्रालयले तयार गरेको आकारको आधारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा हुने स्रोत समितिले हिजो सोमबार साँझ बजेटको नयाँ सिलिङ निर्धारण गरेको थियो ।

आयोगले तयार गरेको नयाँ मध्यमकालीन खर्च संरचना र विकास कार्यक्रमलाई प्रधानमन्त्रीले अध्यक्षता गर्नुभएको आयोगको पूर्ण बैठकले आज बिहान पारित गरेको गरेको थियो । मन्त्रिपरिषद् बैठकले बजेटका अतिरिक्त यससँग सम्बन्धित विधेयकहरू पनि पारित गर्दैछ ।

सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याए पनि मध्यावधि समीक्षामार्फत १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने अनुमान गरेको थियो । त्यसको तुलनामा आगामी आव २०८१/८२ मा आउने बजेट २४ प्रतिशत ठूलो हुनेछ । गत वर्षको मध्यमकालीन खर्च संरचनाले साढे १९ खर्बसम्मको बजेट बनाउन सक्ने सुविधा सरकारलाई दिएको थियो ।

आज दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ बजेट पेश गर्नुहुने कार्यक्रम छ ।