फाइल तस्वीर
काठमाडौँ, जेठ १५ गते । नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूमागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ ।


यसैगरी बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

त्यसैगरी आज राति कोसश प्रदेशका केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।