फाइल तस्वीर : सङ्घीय संसद्को संयुक्त बैठक ।

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय र व्ययको वार्षिक (बजेट) सार्वजनिक गर्दैछ । आज मङ्गलबार नयाँबानेश्वरस्थित सङ्घीय संसद्को संयुक्त बैठकमार्फत् बजेट सार्वजनिक गर्न लागिएको हो ।

नेपालको संविधानले हरेक वर्षको जेठ १५ गते देशको आउँदो वार्षिक वर्षको बजेट सार्वजनिक गर्ने प्रावधानलाई आत्मसात् गर्दै आज बस्ने सङ्घीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नुहुने कार्यसूची रहेको छ । सङ्घीय संसद्को संयुक्त बैठक आज दिउँसो १ बजेका आह्वान गरिएको संसद सचिवालयले जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेट २० खर्ब रुपैयाँको हाराहारीमा हुने बताइएको । सरकारले करको दायरा बढाउनुको साथै सवारी साधन, चुरोट, रक्सी जन्य पेय पदार्थका साथै विभिन्न वस्तुमा कर वृद्धि गरेको छ ।

सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ ।

सङ्घीय संसद्को आजको बैठक विनाअवरोध सुचारु हुनेभएको छ । सहकारीको पैसा अपचलन र ठगी प्रकरणको विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलहरुबीच संसदीय छानविन समितिको क्षेत्राधिकार र कार्यादेशका सम्बन्धमा हिजो साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको छलफलबाट निस्केको सहमतिलाई आज कार्यदलको बैठक बसेर अन्तिम रुप दिने भएको छ । यो सहमतिले आज संसदमा पेश गरिने आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सहज हुनेभएको छ ।