साङ्केतिक तस्वीर


चितवन, जेठ १४ गते । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्नेस्थान गए राति चार सवारी साधन एकापसमा ठोक्किएर दुर्घटनामा परेका छन् । गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले जनाए अनुसार दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन ।

दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।