काठमाडौँ, जेठ १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गर्दै ६२ करोड बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अस्वाभाविक जीवनशैली र आयआर्जन देखिएको भन्दै आयोगले बुधबार पौडेलविरुद्ध अकुत सम्पत्तिमा मुद्दा दायर गरेको हो ।
आयोगले अभियोगपत्रमा पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६ सय ८४ रुपियाँ गैरकानुनी रूपमा आर्जन गरी सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको दाबी गरेको छ । सिङ्गापुरस्थित युनाइटेड ओभरसिज बैंक र अमेरिकाको बैंक अफ अमेरिकामा रहेको खातामा उनले २८ करोड ९५ लाख ७५ हजार ६ सय ८९ रुपियाँ कमिसनबापत बुझेको पाइएको अभियोग पत्रमा उल्लेख छ । विकलले श्रीमती एलिना बस्नेतको नाममा अमेरिकामा खरिद गरेको घरको स्रोतसमेत खुलाउन नसकेको अभियोग पत्रमा उल्लेख छ । उक्त घरको तत्कालीन मूल्यांकन ६ करोड ५ लाख ३३ हजार १ सय रुपियाँ रहेको छ ।
सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले पौडेललाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले पौडेलबाट २५ करोड ४७ लाख बिगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो । यसैक्रममा उनीविरुद्ध अकुत सम्पत्तिमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको हो।
यसअघि अख्तियारले विकल पौडेलविरुद्ध झुटा विवरण पेस गरी सरकारी पदमा पुगेको र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर गरेको थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् ।
यस अवधिमा विकलको वैध आय २ करोड १ लाख ४३ हजार ४ सय ८८ रुपियाँ मात्र रहेको अभियोगपत्रमा उल्लेख छ । विकलले अमेरिकाका विभिन्न कम्पनीमा १३ करोडको सेयर लगाएको अनुसन्धानका क्रममा पाइएको छ । साथै घूसबाट आएको रकमले काठमाडौं महांकालमा २९०.२५ वर्गमिटरको जग्गा खरिद गरेको समेत पाइएको छ ।
त्यसै गरी घूस रकमबाटै विकलको आमा र दाइको नाममा भक्तपुरमा ५ रोपनी ७ आना जग्गा खरिद गरिएको समेत पाइएको अख्तियारले जनाएको छ । (आजको नेपाल समाचारपत्र दैनिकबाट)