काठमाडौँ, जेठ १० गते । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र बिहार आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । अहिले बिहान कोशी र मधेस प्रदेशका थोरै स्थान तथा कर्णाली र बागमती प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।
यस्तैगरी आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

यस्तै राति देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।