काठमाडौँ, जेठ ७ गते । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीका साथै मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्का वर्षासमेत भइरहेको छ ।

आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।

देशको पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित दिउँसो हल्कादेखि मध्यम वर्षा हुने अनुमान महाशाखाले गरेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ । बाँकी भूभागको मौसम आंशिक बदली रहने अनुमान छ ।

यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी प्रदेशसहित बाँकी देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस र बाग्मति प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आज सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।