फाइल तस्वीर
काठमाडौँ, वैशाख ३० गते । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको निम्न चापिय क्षेत्रकोसमेत प्रभाव नेपालमा देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने अहिले बिहान कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा अहिले मेघगर्जन, चट्याङ्ग हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ । देशका केही स्थानमा दिउँसो मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

यसैगरी आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानसँगै बाँकी प्रदेशका एकदुई स्थानमा राति मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।