फाइल तस्वीर:एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की ।
विराटनगर, वैशाख २७ गते । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख पर्शराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गर्नुभए सँगै मुख्यमन्त्रीमा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पेश गर्नुभएको दावीमा उहाँलाई मुख्यमन्त्री बनाउन समर्थन गर्नुभएका सांसदको सनाखत भएको छ ।

एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित कार्कीले आज बिहान दावी पेस गर्नुभएको थियो । एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दावी पेस गरेको एक घण्टापछि उहाँलाई समर्थन गर्नुभएका प्रदेशसभा सदस्यहरुलाई बोलाएर प्रदेश प्रमुख खापुङले सनाखत गराउनुभएको हो ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार नै गत २०८० असोज २७ गते काङ्ग्रेसका केदार कार्की मुख्यमन्त्री बन्नुभएको थियो । केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदल पछि माओवादी केन्द्रसहितका दलहरुले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको थियो । मुख्यमन्त्री कार्कीले वैशाख २५ गतेसम्म विश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङले हिजो २६ गते बुधबार राति दुई दिनको समय दिएर नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको थियो ।

मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुखले बर्खास्त गरेपछि सोविरुद्ध कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुहुने भएको छ ।