फाइल तस्वीर
चितवन, वैशाख २४ गते । चितवनको इच्छाकामना गाउँपालिकाले वडाबाटै योजनाको सम्झौता र भुक्तानी दिन थालेपछि उपभोक्ता समितिलाई सहज भएको छ । सम्झौता र भुक्तानीका लागि घण्टौँ धाएर गाउँपालिका कार्यालय पुग्नुपर्ने झन्झटको अन्त्य भएपछि सहज भएको हो ।

वडा नं. १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले चालु आर्थिक वर्षदेखि उपभोक्ता समिति मार्फत् सञ्चालन हुने साना योजनाको वडाबाटै सम्झौता र भुक्तानी दिन सुरु गरिएको बताउनुभयो । भौगोलिक विकटताका कारण पटकपटक साना योजनाका लागि पनि गाउँपालिका धाइरहनु पर्दा सास्ती बेहोर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ । वडाध्यक्ष रानामगरका अनुसार गाउँपालिका धाइरहनुपर्ने हुदाँ योजनाको निर्माणका लागि उपभोक्ता समितिमा रहेर काम गर्न स्थानीय अग्रसर नहुने समस्या समेत हुने गरेको थियो ।

गाउँपालिका उपाध्यक्ष माया सिलवालले रु. पाँच लाख सम्मका योजना वडाबाट नै सम्झौता र भुक्तानीको व्यवस्था गरिएको बताउनुभयो । उपाध्यक्ष सिलवालका अनुसार सो साना आयोजनाको अनुगमन पनि वडा समितिबाट नै गर्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो,“हामीले साना पाँच लाख सम्मका योजना वडाबाट नै सम्झौता र भुक्तानीको समेत व्यवस्था गरेका छौँ, ती योजनाको वडा समितिबाट नै अनुगमन हुन्छ, सहजताका लागि प्रत्येक वडामा प्राविधिक राखेका छौँ ।”

उहाँका अनुसार उपभोक्ता समितिले योजना निर्माण सम्पन्न भएपछि सबै कागजपत्र वडा कार्यालयमा बुझाउनुपर्नेछ भने आवश्यक प्रक्रिया पुरा भएपछि वडाबाटै भुक्तानी हुनेछ । गाउँपालिकाले योजनाको भुक्तानी वडाबाटै गर्ने व्यवस्था मिलाएर नागरिकलाई गाउँगाउँमा सिंहदरवारको अनुभूति गराउन खोजिएको उपाध्यक्ष सिलवालले सुनाउनुभयो ।

साथै उपाध्यक्ष सिलवालले योजना निर्माण सम्पन्न गर्नका लागि पूरा गर्नुपर्ने आवश्यक प्रकृयाका बारेमा उपभोक्ता समितिलाई तालिम समेत दिइने गरेको बताउनुभयो । यस आर्थिक वर्षमा गाउँपालिकाबाट उपभोक्ता मार्फत् सञ्चालन भएका ४७ वटा योजनामध्ये अधिकांश योजना सम्पन्न भइसकेको उहाँले बताउनुभयो । उपाध्यक्ष सिलवालका अनुसार आर्थिक वर्षको अन्त्यमा काम गर्ने परिपाटीको अन्त्य गर्नका लागि बेलैमा योजना सम्झौता गरी कार्यान्वयन गरिएकोले उपभोक्ता समिति मार्फत् निर्माण हुने काम सकिन लागेको हो ।

वडा नं. २ का स्थानीय रामबहादुर चेपाङले साना योजनाको सम्झौता र भुक्तानी गर्न पटकपटक गाउँपालिका धाइरहनुपर्ने अवस्थाको अन्त्य भएपछि समयको वचत र  आर्थिकभार समेत कम हुने गरेको बताउनुभयो । उहाँका अनुसार साना साना योजना सम्झौता र भुक्तानकिा लागि पनि गाउँपालिका कार्यालय धाइरहनुपर्ने भएकाले उपभोक्ता समितिमा नै बस्न नखोज्ने जस्ता समस्या हुने गरेका थिए । 

गाउँपालिकामा सात वटा वडा रहेको छ । भौगोलिक विकटताका कारण साना साना योजनाको सम्झौता र भूक्तानीका लागि गाउँपालिका धाइरहनु पर्दा उपभोक्ता समितिले सास्ती बेहोर्नु परेको थियो ।