हेटौँडा, वैशाख २३ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया सुरूगरिएको बताउनुभयो । बागमती प्रदेश राजधानी हेटौंडामा आज वागमती विश्वविद्यालयको सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले लामो गृहकार्यपछि विश्वविद्यालय स्थापना गर्ने योजनाले मूर्तरूप पाएको बताउनुभयो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको कमानेमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तान र सामाजिक विकास मन्त्रालयका सचिव डा भिष्मकुमार भुसालले प्रदेश विश्वविद्यालय स्थापना विकासको महत्वपूर्ण पक्षका रूपमा रहेको भन्दै अब समय सुहाउँदो उच्च शिक्षाका लागि पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसअवसरमा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव भुसाललाई बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसअघि विश्वविद्यालयको विधान तयार भइसकेको छ ।