गण्डकी, वैशाख २३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने हुनुभएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा आज विश्वासको मत लिन लाग्नुभएको हो ।

चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका अधिकारीले आज अपरान्ह ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा काङ्ग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीसहित ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट रहेको छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने विषय पेचिलो देखिएको छ। बहुमतको लागि उनलाई ३१ मत आवश्यक पर्दछ । एमालेका सभामुख बाहेक २१ र माओवादीका नेसपा बाहेक ७ र एकीकृत समाजवादीको एक गरी २९ मत मात्र पुग्दछ ।