वीरगञ्ज, वैशाख २१ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन हुनुभएको छ । नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोध रुपमा चयन हुनुभएको हो ।

नवौँ अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दाबी गर्नुभएको थियो । तर अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्यासी जयप्रकाश थारु र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्षमा चयन हुनुभएको हो । 

पाँच पदाधिकारीसहित एक सय २७ सदस्यका लागि निर्वाचन हुन लागेको हो । अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदाधिकारी पदमा भने शुक्रबार निर्वाचन हुने कार्यतालिका छ । एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि भने शुक्रबार मतदान हुने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताउनुभयो । उपाध्यक्ष पदमा लालबाबु शेख र मनोज गुप्ताको उम्मेदवारी परेको छ । 

सचिव पदमा महेश दास र नवराज शर्माको उम्मेदवारी परेको छ । पर्सा जिल्लामा १४ वटा पालिका छन् । तीमध्ये ११ पालिकाबाट जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका छन् । 

वीरगञ्ज, पर्सौनी र पर्सागढी पालिकाबाट जिल्ला सदस्य पदमा अहिलेसम्म सर्वसहमत हुन सकेको छैन । एमालेको नवौँ जिल्ला अधिवेशन सोमबार उद्घाटनसत्र भएको थियो । अधिवेशनको मङ्गलबार बन्दसत्र सकिएसँगै निर्वाचन प्रक्रिया अघि बढेको थियो ।