काठमाडौँ, वैशाख १७ गते । तेस्रो नेपाल लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरू भएको छ । नेपालमा वैदेशिक लगानी भित्र्याउनका निम्ति लगानी सम्मेलन आयोजना गरिएको हो ।
आयोजनाको पहिलो दिन दुईवटा सम्झौता भएका छन्। सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ ।
सम्झौतामा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गर्नुभएको छ । त्यसै गरी डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ।
डाटा सेन्टर स्थापनाका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो। बीएलसी होल्डिङका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गर्नुभयो।
बीएलसी वसन्त चौधरीको कम्पनी हो भने योट्टा भारतको बहुराष्ट्रिय कम्पनी हिरान्दनी समूहको सहायक कम्पनी हो। बीएलसी र योट्टाको सहकार्यमा काठमाडौं रामकोटमा ३ अर्ब रुपियाँको लगानीमा डाटा सेन्टर स्थापना हुने छ । करिब ११ रोपनी क्षेत्रफलमा निर्माण हुने डाटा सेन्टर दुई वर्षमा निर्माण सम्पन्न हुनेछ।
४ मेगावाटसम्मको आईटी लोड प्रवाह गर्न सक्ने यस डाटा सेन्टरले नेपालमा सूचना प्रविधिको रोजगारीलाई बढाउनुका साथै सूचना प्रविधिकोे सुरक्षामा नयाँ आयाम थपिने विश्वास गरिएको छ। यस क्षेत्रमा हालसम्मकै सम्भवतः सबैभन्दा ठूलो एवम् पहिलो वैदेशिक लगानी पनि हो ।
‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलनमा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता रहेको लगानी बोर्डले जनाएको छ।
जसमध्ये ५५ देशका करिब ४ सय जना विदेशीको सहभागिता रहेको छ। सोमबारसम्म चल्ने लगानी सम्मेलनका लागि सरकारले डेढ सय परियोजना सोकेसमा राखे पनि २० वटा परियोजनाका लागि मात्रै आशयपत्र आह्वान गरेको छ।
आयोजना पहिचान भई पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा प्रारम्भिक चरणको कामसमेत अघि बढिसकेका आयोजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गर्न लागिएको हो।
जसमा धुलिखेल मेडिसिटी परियोजनाको प्रस्तावित लागत ११ अर्ब रुपियाँ छ। विश्वस्तरीय मेडिकल सेन्टर र मेडिकल टुरिजमको हबका रूपमा विकास गर्ने परियोजनाको लक्ष्य छ । त्यस्तै, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजनामा १७२ बस (६८ डिजेल बस, एक सय चार विद्युतीय बस) तथा ४७ बस बिसौनी प्रस्ताव गरिएको छ।
धनगढीबाट चिसापानीसम्म २१ वटा, टीकापुर–लम्कीसम्म चारवटा, गड्डाचौकीबाट अत्तरियासम्म १० वटा र अत्तरियाबाट डोटीसम्म १२ वटा स्टप राखिने छ। यसको लागत ३१ अर्ब १३ करोड रहेको छ। जलविद्युत् र सिँचाइका लागि नौमुरे बहुउद्देश्यीय आयोजना प्रस्ताव गरिएको छ । यो आयोजनाको लागत ९२ अर्ब अनुमान गरिएको छ।
२८१ दशमलव मेगावाट उत्पादन क्षमताको यो परियोजनाले तीनवटा जलविद्युत् योजनालाई समेटेको छ। परियोजनामा नौमुरे (२१८ दशमलव ३४ मेगावाट), लामाताल (आठ मेगावाट) र सुरैनाका (५४ दशमलव सात मेगावाट) छन्। कपिलवस्तु सिँचाइ प्रणालीसँगै यसले देउखुरी उपत्यकाको विद्यमान सिँचाइ प्रणालीलाई पनि समेट्छ । साथै बाँके जिल्लामा ४२ हजार सात सय ६६ हेक्टर र कपिलवस्तुमा २९ हजार सात सय ३६ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ।
खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत् आयोजना १२१६ मेगावाट विद्युत् उत्पादन क्षमताको खिम्ती ठोसे शिवालय जलाशययुक्त आयोजना २ खर्ब ८९ अर्ब ७७ करोड बराबर रहेको छ। हुम्ला कर्णाली जलविद्युत् आयोजना हुम्ला कर्णाली जलविद्युत आयोजनाको विद्युत् उत्पादन क्षमता ६१ दशमलव दुई मेगावाट छ १४ अर्ब ७० करोड बराबर रहेको छ ।
त्यस्तै, ५३ दशमलव ८५ मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना ११ अर्ब ९० करोड बराबर छ । पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजनाको प्रस्तावित लगानी एक अर्ब ५७ करोड छ, ३० मेगावाट कवाडीखोला जलविद्युत् आयोजन ६ अर्ब ४१ करोडको छ । ६५० मेगावाट क्षमताको कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजना १ खर्ब ७४ अर्ब ७३ करोड रुपियाँ लागत अनुमान गर्दै आशयपत्र आह्वान गरिएको छ।
त्यस्तै, ३७७ मेगावाट उत्पादन क्षमताको भारबुङ जलाशययुक्त जलविद्युत् आयोजना ८० अर्ब १२ करोड लागत अनुमान गरिएको छ । ४० मेगावाट विद्युत् उत्पादन क्षमताको तोम दोगर बुढीगण्डकी जलविद्युत् आयोजना ८० अर्ब १२ करोड रहेको छ, ३४ दशमलव ९३ मेगावाट उत्पादन क्षमता रहेको सुपर बुढीगण्डकी जलविद्युत् आयोजनाको लागत ७ अर्ब ३४ करोड अनुमान गरिएको छ।
३ अर्ब ७२ करोड लागत अनुमान गरिएको पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र परियोजनामा पनि सोकेसमा राखिएको दैजी औद्योगिक क्षेत्र सम्मेलनमा ‘दैजी औद्योगिक क्षेत्र’ परियोजनाका लागि पनि लगानीकर्ताबाट आशयपत्र माग गरिएको छ। यो लागत ८ अर्ब ६० करोड रहेको छ।
सरकारले बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि लगानी सम्मेलनमार्फत् आशयपत्र माग गरेको छ । ३० हजार २१ वर्गमिटरमा फैलिने परियोजना विकासका लागि सहरी विकास मन्त्रालयले प्रस्ताव गरेको हो। यो परियोजनाको अनुमानित लागत १० अर्ब २० करोड रुपियाँ रहेको छ।
महादेव खोला जलाशय निर्माण परियोजनको अनुमानित लागत २ अर्ब ४५ करोड छ। १० मेगावाट बराबरको ‘कर्णाली चिसापानी वायु ऊर्जा’ परियोजनाका लागि पनि लगानी सम्मेलनमार्फत् लगानीका लागि आशयपत्र माग गरिएको छ।
उक्त परियजनाको लागत १४ अर्ब ७३ करोड छ । त्यस्तै, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन दु्रतमार्ग परियोजनाको २ खर्ब २१ अर्ब रहेको छ । लगानी सम्मेलनमा २ अर्ब ३५ करोड लागत अनुमान गरिएको जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज परियोजनालाई पनि आशय पत्र आह्वान गरिएको छ । त्यसबाहेक धौवादी फलाम खानी उत्खनन् आयोजनाका लागि ५१ अर्ब २५ करोड लागत अनुमान गरिएको छ ।
सम्मेलनमा प्रदर्शनीमा राखिएका परियोजनमध्ये ऊर्जा क्षेत्रका ३१, यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषि क्षेत्रका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापार ‘लजिस्टिक’ क्षेत्रका सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकाससम्बन्धी छवटा परियोजना छन् । निजी क्षेत्रबाट प्रस्तावित ३१ परियोजना पनि समावेश गरिएको छ । (आजको नेपाल समाचारपत्र दैनिकबाट)