झापा, वैशाख १४ गते । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका छन् । सङ्घीय खानेपानी मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा बाहुनडाँगी, धुलाबारी र चारआलीमा आयोजना पूरा भएका हुन् ।
मेचीनगरको समेत लगानी रहेको खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बनेका ती आयोजनामा रु १५ करोड ५७ लाख ३८ हजार छ सय ७७ खर्च भएको छ । काँकडभिट्टा खानेपानी आयोजनामार्फत मेचीनगर–४ बाहुनडाँगीमा निर्माण सम्पन्न भएको संरचना बिहीबारदेखि सञ्चालनमा आएको छ भने बाँकी दुईवटा आयोजना पनि शीघ्र सञ्चालन हुने मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष राजकुमार पराजुलीले बताउनुभयो ।
अध्यक्ष पराजुलीका अनुसार बाहुनडाँगीमा रु छ करोड ३८ लाख चार सय १२, धुलाबारीमा रु चार करोड ८० लाख ७६ हजार दुई सय १० र चारआलीमा रु चार करोड ३८ लाख ४९ लाख ५५ को लागतमा आयोजना निर्माण गरिएको हो । आयोजनाका लागि बाहुनडाँगीमा स्थानीय अम्बिका कार्की र टेकबहादुर कार्कीले दुई कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । उक्त जग्गा पर्याप्त नभएपछि थप दुई कठ्ठा खरिद गरेर ओभरहेड ट्याङ्की, फिल्टर, कार्यालयलगायत संरचना बनाइएको छ । बाहुनडाँगी खानेपानी आयोजनाबाट मेचीनगर नगरपालिकाका वडा नम्बर २, ३ र ४ का एक हजार नौ सय परिवारलाई स्वच्छ पेयजल प्राप्त हुनेछ ।