तान्जानिया, वैशाख १३ गते । तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमा १ सय ५५ जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार वर्षाका कारण १ सय ५५ जनाको मृत्यु भएको छ भने अन्य २ सय ३६ जना घाइते भएका हुन् ।

तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको छ, जसका कारण दुई लाख मानिस प्रभावित भएका छन् भने १० हजार घरमा क्षति पुगेको प्रधानमन्त्री कासिम मजालिवाले सदनसमक्ष जानकारी गराउनुभयो ।

बाढीका कारण विद्यालयका पूर्वाधार, कृषिबाली, सडक, पुल, स्वास्थ्य संस्था र पशुचौपायामा क्षति पुगेको उहाँले बताउनुभयो । मजालिवाका अनुसार बाढीबाट अति प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न आदेश दिने जस्ता थप विपत्तिपूर्ण अवस्था आउन नदिन सरकारले कदम चालेको छ । “तान्जानिया राष्ट्रिय सडक सञ्जाल, तान्जानिया ग्रामीण र शहरी सडक निकाय, र तान्जानिया रेलवे कर्पोरेसनलाई क्षतिग्रस्त सडकहरू र रेलवेहरूको तत्काल जीर्णोद्धारको लागि तत्काल मूल्याङ्कन गर्न आदेश दिइएको छ,” उहाँले भन्नुभयो ।

तान्जानियाको मौसम विज्ञान प्राधिकरणका अनुसार अल–निनोको अवस्थाबाट प्रभावित भारी वर्षा मे महिनासम्म रहने अनुमान गरिएको छ । (रासस/एएफपी)