काठमाडौँ वैशाख १३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री कँडेलले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो ।
विश्वासको मत लिनुअघि मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो । गठबन्धनमा रहेका दलहरूबीच सहमति जुट्न नसक्दा कँडेलले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेको १० र एकीकृत समाजवादीका १ प्रदेशसभा सदस्य छन् । यस्तै नेपाली काङ्ग्रेसका १४, राप्रपाका १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सदस्यको समर्थन चाहिन्छ ।