प्रतिकात्मक तस्वीर
धनुषा, वैशाख ७ गतेः धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको हो ।

पैदल हिँडिरहेका मण्डललाई ०२–००७प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक विदेह नगरपालिका–६ इकराहीका ३० वर्षीय रोहित मण्डल फरार छन् । उनको मोटरसाइकल भने प्रहरीले इकराहीबाट बरामद गरेको छ । मृतक वृद्धको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।