काठमाडौँ , बैशाख ७ गतेः सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ । दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट गएराति जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ पिस्करमा रहेको बेहुलीको घरतर्फ जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस आज बिहान तौथलीको धारावतीमा दुर्घटनामा परेको हो ।

भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा भिमेश्वर १ का करिब २२ वर्षीय शिव श्रेष्ठ र सोही स्थानका अन्दाजी ७० वर्षीय मानबहादुर थामीको सनाखत भएको छ भने अर्का एक जनाको अझै सनाखत हुन बाँकी रहेको बताइएको छ । दुर्घटनामा बेहुला पनि सामान्य घाइते रहेको बताइएको छ ।

५५ जना सवार बस भिरमा अड्किएको र तीन जनाको घटनास्थलमै मृत्यु भइसकेको छ भने करिब ३३ जना घाइते भएको बताइएको छ । प्रहरीले ५२ जना घाइते भनेपनि सुरुमा आत्तिएर बेहोस जस्तो बनेका धेरै यात्रु अहिले सामान्य अवस्थामा आएको बताएको छ । दुर्घटनाका सामान्य घाइतेको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सडकबाट झण्डै २ सय मिटर तल खसेर भिरमा अड्किएको बस कच्ची र अप्ठ्यारो सडकको कारण बस पल्टिएको हुन सक्ने अनुमान गरिएको छ ।