जनकपुरधाम, वैशाख ६ गतेः मधेस प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराउनुभएको हो ।

आज बिहीबार मन्त्री नियुक्त हुनुभएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ । माओवादी नेता साह र एकीकृत समाजवादीकी नेतृ लुङ्गेलीको मन्त्रालय तोकिएको छैन ।

माओवादीका युवराज भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय र संसदीय दलका नेता भरत साहलाई विना विभागीय मन्त्रीमा शपथ ग्रहण गराइएको छ । माओवादीले उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएको थियो । सो मन्त्रालयको जिम्मेवारी युवराज भट्टराईलाई दिइएको छ ।

त्यस्तै नेकपा एमालेकी शारदा थापाले गृह तथा सञ्चार राज्यमन्त्रीको शपथ लिनुभएको छ । राज्यमन्त्री थापालाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराउनुभयो ।