काठमाडौँ, वैशाख ६ गतेः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा मौसम बदली भई वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार अहिले सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

यसैगरी कोशी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।