उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी ।
काठमाडौँ, वैशाख ५ गतेः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । पश्मिना फाइबर प्रशोधनसम्बन्धी तालिमका सहभागीलाई आज ललितपुरमा प्रमाणपत्र वितरण गर्दै मन्त्री भण्डारीले पश्मिना उद्योगलाई सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

मन्त्री भण्डारीले पश्मिना उद्योगका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेका उल्लेख गर्दै नेपालबाट निर्यात हुने महत्वपूर्ण उत्पादनमध्ये च्याङ्ग्राको भुवाबाट बन्ने पश्मिना पनि रहेकाले यस क्षेत्रका लागि पश्मिना उद्योगको प्रवद्र्धन गर्न आवश्यक पूर्वाधार निर्माण र अन्य क्षमता विकासका कार्यमा सहयोग गर्न सरकार तयार रहेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो ।

उहाँले फाइबर प्रशोधन केन्द्रको निरीक्षण गरी पश्मिना फाइबर प्रशोधनको प्रक्रियाबारे जानकारी लिनुभएको थियो । पश्मिना व्यवसायी र च्याङ्ग्रा किसानको संयुक्त लगानीमा ललितपुरको हरिसिद्धिमा निर्माण भएको पश्मिना प्रशोधन केन्द्रले किसानबाट च्याङ्ग्राका भुवा सङ्कलन र प्रशोधन गरी पश्मिना उद्योगलाई आपूर्ति गर्दै आएको छ । 

पश्मिना फाइबर प्रशोधन सम्बन्धी सीप सिकाउने उद्देश्यले ललितपुर तथा काठमाडौँका स्थानीय महिलालाई उत्पादन तालिम दिएको हो । सत्र दिनसम्म सञ्चालन भएको तालिममा २० जना सहभागी थिए । 

उक्त अवसरमा नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष विजय दुगडले पश्मिना फाइबर प्रशोधन केन्द्रको स्थापनाबाट पश्मिना व्यवसायीले लाभ उठाइरहेको जनाउँदै सरकारले पश्मिना उत्पादन वृद्धि गर्न पूर्वाधार निर्माण र निर्यात अभिवृद्धिमा सहयोग गर्न आग्रह गर्नुभयो । सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले पश्मिना क्षेत्रमा देखिएका समस्याबारे चर्चा गर्नुभएको थियो ।