फाइल तस्वीर
पोखरा, वैशाख ५ गते: गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गते शुक्रबार बस्ने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते दिउँसो ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालका अनुसार नियमित अधिवेशन आह्वान गरिएको हो । पर्सी ७ गते बस्ने उक्त अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्ताव पेस गर्नुहुने छ । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका अधिकारीको नियुक्ति असंवैधानिक भएको भन्दै नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एव पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

सर्वोच्च अदालतले वैशाख ७ गते लिखित जवाफ पेश गर्न आदेश दिएको छ । पाण्डेको रिटको फैसला वैशाख १० गतेका लागि तोकिएको छ । मुख्यमन्त्री अधिकारीले त्यसअघि नै प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।