फाइल तस्वीर
जनकपुरधाम, बैशाख ४ गतेः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिंदै बाहिरिएको छ । आज मङ्गलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।

दलको निर्णयसँगै उक्त पार्टीबाट वन तथा वातावरणमन्त्री बन्नुभएका रमेशप्रसाद कुर्मीले आजै पदबाट राजीनामा दिनुभएको छ । मधेश प्रदेशसभामा लोसपाका नौ जना सांसद रहेका छन् । त्यसमध्ये मुख्यमन्त्री सरोज यादव नेतृत्वको सरकारमा उक्त पार्टीबाट कुर्मी मात्रै मन्त्री बन्नुभएको थियो । लोसपाले मधेश सरकारमा थप एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो । मुख्यमन्त्री यादवले लोसपाको उक्त मागप्रति बेवास्ता गरेकै कारण सरकारबाट बाहिरिंदै समर्थन फिर्ता लिएको हो ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको थियो । दिउँसोको बैठक जनमत पार्टीका सांसदहरुले अवरोध गरेपछि १० मिनेटका लागि स्थगित बैठक स्थगित भएको थियो । प्रदेशसभा बैठक सञ्चालन गर्न सर्वदलीय बैठक समेत बसेको थियो ।

एक सय सात सदस्यीय मधेश प्रदेशसभामा एमालेका सभामुखसहित २४ जना, नेपाली काङ्ग्रेसका २२ जना, जसपाका १९ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्र र लोसपाका नौ÷नौ जना र एकीकृत समाजवादीका सात जना सांसद छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका एक÷एक र एक जना स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । गठबन्धनको समर्थन मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन सहज देखिन्छ ।