कास्की, वैशाख ४ गतेः चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँका अवसरमा गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आज गण्डकीका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।


मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिनुभयो ।

चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ पनि भनिन्छ । चैतेदसैँका अवसरमा आज देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने हिन्दू धर्मालम्बीहरुको धार्मिक परम्परा रहीआएको छ ।