फाइल तस्वीरः मुख्यमन्त्री सरोजकुमार यादव ।
जनकपुरधाम, वैशाख ४ गतेः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै हुनुहुन्छ । जनता समाजवादी पार्टी, नेपाल मधेश प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवले आज मङ्गलबार प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो ।

दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधान अनुसार आज मुख्यमन्त्री यादवले विश्वासको मत लिनुहुने भएको हो । मुख्यमन्त्री यादवले १५ महिनाको आफ्नो कार्यकालको अवधिमा आज समेत गरी चार पटक विश्वासको मतको सामना गर्दै हुनुहुन्छ । यद्यपि, उहाँले विश्वासको मत पाउने निश्चित प्रायः छ । मुख्यमन्त्री यादवलाई एमाले, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको साथ रहेको छ ।

एक सय सात प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन कम्तिमा ५४ मतको आवश्यक पर्दछ । प्रदेशसभामा एमालेका सभामुखसहित २४ जना सांसद रहेका छन् भने नेपाली काङ्ग्रेसका २२ जना, सत्ताको नेतृत्वकर्ता जनता समाजवादी पार्टी नेपालका १९ जना, जनमत पार्टीका १३ जना, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीका नौ÷नौ जना र नेकपा एकीकृत समाजवादीका सात जना, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी पार्टीका एक÷एक जना र स्वतन्त्र सांसद एक जना रहेका छन् ।

मुख्यमन्त्री यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका सांसद्को मत प्राप्त हुने भएकाले उहाँले प्रदेशसभाबाट विश्वासको मत पाउनुहुने छ ।