फाइल तस्वीर
काठमाडौँ, वैशाख ४ गतेः मुलुकभरको आजको मौसम सामान्यतया बदली हुने छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले देशभरको मौसममा बदली भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

अहिले बिहान पश्चिमी तथा स्थानीय वायुको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

आज मङ्गलबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र पहाडी भूभागको केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने मौसम बुलेटिनमा उल्लेख छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

भोलि बुधबार कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।