फाइल तस्वीरः मुख्यमन्त्री सरोजकुमार यादव ।
जनकपुरधाम, वैशाख ३ गतेः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । मधेश प्रदेशसभाको भोलि दिउँसो १ बजे बस्ने बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री यादवले मशेध प्रदेशको नेतृत्व सम्हाल्नुभएको १५ महिनामा भोलि लिनुहुने विश्वासको मत चौंथो हुनेछ । मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनका लागि बैठक बोलाइएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले बताउनुभएको छ । दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

सङ्घीय सरकारमा सत्ताको गठबन्धनमा भएको फेरबदल पछि मधेश सरकार पनि त्यसको प्रभाव परेको छ । गत चैत ५ गते नेपाली काङग्रेस सत्ताबाट बहिर्गमित भएपछि केन्द्रदेखि प्रदेश सरकारसम्म एमाले सहभागी भएको छ । मधेश प्रदेश सरकारबाट नेपाली काङ्गे्रस बाहिरिंदै चैत ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

मधेश प्रदेशसभामा एक सय सात प्रदेशसभा सदस्य रहने व्यवस्था छ । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा पनि ५४ मतको आवश्यक पर्दछ । प्रदेशसभामा एमालेका सभामुखसहित २४ जना सांसद रहेका छन् भने नेपाली काङ्ग्रेसका २२ जना, सत्ताको नेतृत्वकर्ता जनता समाजवादी पार्टी नेपालका १९ जना, जनमत पार्टीका १३ जना, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीका नौ÷नौ जना र नेकपा एकीकृत समाजवादीका सात जना सांसद रहेका छन् ।

यस्तैगरी नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी पार्टीका एक÷एक जना र स्वतन्त्र सांसद एक जना रहेका छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

मुख्यमन्त्री यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका सांसद्को मत नै पर्याप्त हुने देखिन्छ । यसरी हेर्दा मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने निश्चित प्रायः छ ।