फाइल तस्वीर: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी ।
कास्की, वैशाख ३ गते — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री अधिकारी असंवैधानिक बाटोबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको फैसला नआउँदै मुख्यमन्त्री अधिकारीले सो अघि नै प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
मुख्यमन्त्री अधिकारीविरुद्ध असंवैधानिक बाटोबाट मुख्यमन्त्री नियुक्त गरिएको भन्दै गण्डकी प्रदेश काङग्रेस संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि सुनुवाई गर्दै सो सम्बन्धी मुद्दाको किनारा नलाग्दासम्म सर्वोच्चको आदेशमा मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रुपमा काम गर्न भनिएको छ ।
काङ्ग्रेस संसदीय दलका नेताले दायर गर्नुभएको रिटको सुनुवाइ गर्दै सर्वोच्चले वैशाख ७ गते शुक्रबार भित्र कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सो मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गते सोमबार पूर्ण पेसी तोकिएको छ । तर मुख्यमन्त्री अधिकारीले त्यसअघि नै प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
मुख्यमन्त्री अधिकारीले छिट्टै प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने गरी छलफललाई तिव्रता दिनुभएको छ । मुख्यमन्त्रीले कानुनविद्हरुसँग रायसुझाव लिएर विश्वासको मत लिने तयारी गर्नुभएको बताइएको छ ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन नसकेको अवस्थामा गण्डकी प्रदेश मध्यावधि निर्वाचनमा जान सक्ने एक खालको अडकलवाजी पनि गर्न थालिएको छ । यदि यस्तो अवस्था आयो भने यसको प्रभाव अन्य प्रदेशमा पनि पर्नसक्ने छ । देशको अर्थतन्त्र थलाथला परेको अवस्थामा मध्यावधि निर्वाचन गरेको देशको अर्थतन्त्रमा थप जटिलता निम्तिन सक्ने हुँदा कुनैपनि राजनीति दल र नेतृत्वले हतास र लहडमा यस्तो निर्णय गर्नु बुद्धिमता हुँदैन । यस तर्फ सबै जिम्मेवार राजनीतिक दलहरु सचेत हुनु आवश्यक हुन्छ ।