नैरोबी — पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण ५८ जनाको मृत्यु भएको सरकारले जनाएको छ । तान्जानिया सरकारका अनुसार तटीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र उक्त क्षेत्रमा बाढीले एक लाख २६ हजार ८३१ जना विस्थापित भएका छन् ।

सरकारका प्रवक्ता मोभरे माटिनीले प्रभावितहरूलाई खाद्यान्नसहित आवश्यक आपूर्ति वितरण गरिएको बताउनुभयो । तान्जानियाले भविष्यमा बाढी रोक्न आवश्यक बाँध निर्माण गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

केन्यामा पनि अहिलेसम्म कम्तिमा १३ जनाको मृत्यु भएको जनाइएको छ । बाढीका कारण पूर्वाधार पनि क्षतिग्रस्त हुनुका साथै प्रवावित क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ । यस महिनाको अन्त्य सम्ममा वर्षा चरम सीमामा पुग्ने अनुमान गरिएको छ ।